संसद विघटन बदरको माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाइ आज

काठमाडौँ – सर्वोच्च अदालतले संसद विघटन विरुद्ध दायर रिटमा आज सुनुवाई गर्ने भएको छ । सर्वोच्चमा संसद विघटनविरूद्द करिब १ दर्जन रिट दर्ता भएका छन् । संसद विघटनविरूद्द दायर रिटहरूको आज एकल इजलासमा सुनुवाई हुने सर्वोच्च अदालत रिट महाशाखाले जानकारी दिएको छ ।

नेकपाका सांसदले पनि संसद विघटन असंवैधानिक भन्दै मंगलबार रिट दर्ता गराएका छन् । प्रतिनिधिसभामा नेकपाका प्रमुख सचेतक रहेका देव गुरुङ, सांसदहरु कृष्णभक्त पोख्रेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले रिट दर्ता गराएका हुन् । रिटमा प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ । उनीहरूको रिटमा राष्ट्रपतिले विघटन घोषणा गर्नु असंवेधानिक रहेकाले संसद विघटन नभएको जिकिर गरिएको छ ।

‘प्रधानमन्त्रीले गरेको संसद विघटन र निर्वाचनको मिति सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिबाट गरेको संसद विघटनको निर्णयबाट हामी निवेदक ५ वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएका छौँ’ रिटमा भनिएको छ, ‘अतः मिति २०७७ पुस ५ मा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारबाही र सो सिफारिसका आधारमा भए गरेका सम्पूर्ण कार्यहरु नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणको आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने कामहरु सम्पन्न गर्न आवश्यक र उपयुक्त आदेश जारी होस् ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *