उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा खुल्ने, यातायातमा जोरबिजोर लागू

काठमाडौं – काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा बिहीबारदेखि खुल्ने भएको छ । सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार-व्यवसायलाई शर्तसहित खोल्न दिने टुंगोमा प्रशासन पुगेको हो । अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने छ । काठमाडौं उपत्यकामा भदौ ३ गते देखि निषेधाज्ञा लागु गरिएको थियो ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आधिकारिक निर्णय सार्वजनिक गर्ने तयारी गरिररहेका छन् । व्यापार व्यवसाय खोल्न दिने शर्तहरु बारे औपचारिक निर्णयमा विस्तृतमा खुलाइने काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालले बताए ।

काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिनेछ । शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् । उपत्यकाका तीनै जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको अवधि बुधबार मध्यरातसम्म छ ।

यस्तै निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने काम गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन ।

यस्तै निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य सामानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ मोडल तयार भएको छ । तर, होटल रेष्टरेन्ट, सिनेमा हल, क्लब तथा अन्य मनोरञ्‍जन स्थल भने बन्दै रहने छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *