काठमाडौं – काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा फेरि एक हप्ताको लागि निषेधाज्ञा थप्ने निर्णय भएको छ । कोरोना भाइरसले पछिल्लो समय तीव्र गति लिँदै गएपछि केही समय अघिबाट उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो ।
तर त्यसपछि पनि कोरोना रोकथामको लागि फेरि एक हप्ताको लागि निषेधाज्ञा लम्ब्याइएको हो । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेको जनाएका छन् ।
निषेधाज्ञा लम्ब्याए पनि केही सेवाहरु सञ्चालन गर्न छुट दिइने जनाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले दैनिक जीवनलाई केही सहज बनाउने गरी निषेधाज्ञा थप गरेको हो ।
गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले लकडाउन थपिएकोबारेमा एक घण्टापछि विस्तृत विवरण दिइने बताए । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यसबारेमा औपचारिक सूचना एक घण्टापछि दिइने बताए । काठमाडौं उपत्यकाभित्र दोस्रो पटक थप गरिएको निषेधाज्ञाको समय आज (बुधबार) राति १२ बजेबाट सकिँदैछ ।