असहमतिकाबीचनै राज्य व्यवस्था तथा सुशासन समितिबाट निजामती विधेयक बहुमतले पास

काठमाडौं – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीकै असहमतिकाबीच निजामती सेवा विधेयक बहुमतले पास गरेको छ ।

सोमबार संघिय संसद सचिवालय सिंहदरवारमा बसेको समितिको बैठकले प्रदेश मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पद प्रदेश निजामती सेवा अन्तर्गत हुने प्रस्ताव बहुमतले पास गरेको हो । प्रदेश निजामती सेवा तयार नहुँदासम्म दुबै पदमा कर्मचारी संघीय सरकारले पठाउने छ ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले यसमा सरकारको धारणा फरक रहेको भन्दै त्यसलाई राख्न पाउनुपर्ने बताएका थिए । समितिको अघिल्लो बैठकमा उनले प्रदेशका मुख्य सचिवसँगै सचिव पनि संघबाटै पठाउने प्रस्ताव राखेका थिए ।
तर समिति सभापति शशी श्रेष्ठले बहुमतका आधारमा पास भएको घोषणा गरिन् । ‘माननीयज्यूहरूको असहमति हुन सक्छन्, यसअघि (चैत्र गते) नै टुङ्ग्याइसकेको विषयमा पुनः छलफल हुँदैन र सोही अनुसार समितिको प्रतिवेदन अघि बढ्छ’ समिति सभापति श्रेष्ठले भनिन् । सभापति श्रेष्ठले उक्त कुरा बताई रहँदा मन्त्री त्रिपाठीले समितिले तयार पारेको मस्यौदाका आधा दर्जन जति विषयहरूमा आफ्नो असहमति रहेको दोहोर्‍याइरहेका थिए भने सांसदहरूले पनि यसअघि झैँ आ-आफ्नै रायहरू राखेर आज नै टुंगिन नसक्ने बताइरहेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *